आज एउटा प्रण गरे
बत्ती निभाएर दियो बालेँ
उज्यालो छिरेका प्वाल सबै टालेँ
एकछिन घोरिएर हेरे र सोचेँ
हेरेर र हेरे र मा धेरै फरक हुने रहेछ
एक्कासी याद आयो
दियो हेरेँ
बलिराको थियो ।
उज्यालो बत्तीमा हैन
मनमा हुनपर्छ
आजबाट दियो बाल्छु
छुटेका सपना फेरि पाल्छु,
फेरि याद आयो
दियो हेरेँ
भर्भराइराथ्यो ।
शब्द ठुलो भयो ठानेँ
मेटे र लेखेँ
‘उज्यालो बत्तीमा हैन
मनमा हुनपर्छ
आजबाट दियो बाल्छु
छुटेका सपना फेरि पाल्छु,
फेरि याद आयो
दियो हेरेँ
थिएन ।’
थिएन ?
कुकुरका छाउरा जस्ता
कराइरहेका सपनामा छिरे
र आफैँलाई हप्काँए
आँखा चिम्लेर देखेका सपना पनि
के सपना ?
पूरा गर्न नसकिने सपना
भन्दा त
पूरा नभएको विपना नै ठिक
आँखा खोलेँ
दियो हेरेँ
तिहारको याद दिलायो ।
अक्सिजन पो कम भयो कि ?
सपनाका सुस्केराले निभ्न पो
लाग्यो कि ?
निभ्यो ।
शान्त ।
सपनाले विपनाको प्रण निलिदियो
विपनामा नउखिलिने झार खिलिदियो,
टिप्छु भन्ने सोच्दा सोच्दै
आँखा फेरि खुलिदियो ।
तिहार जस्तै झिलिमिली गरेछि बत्तिले
के असल कुरा सोच्थ्यो यो मत्तिले
यौवनको मातमा मत्याइदियो
मत्याएर विपनामै लत्याइदियो
आँखा खुलिसकेपछी
दियो हेरे
बल्दै थियो ।
आज सपनाबाट निस्केर के गर्नु
पर्सि फेरि फर्कन परेपछी
सोचेर प्रण फिर्ता लिएँ
हावाको एक झोका तानी
दियो तिर बाटो दिएँ
निभेन ।
फेरि गरेँ
निभेन ।
निभ्दै निभेन ।
एक्कासी याद आयो
माथी हेरेँ
‘दियो निभ्यो’
ह्या शिर्षक नै मिलेन ।
•
उ : दाइ कविता त बबाल छ त ?
म : धन्यवाद ।
उ : एउटा प्रश्न सोध्नुथ्यो ?
म : सोधन ।
उ : दियो चाहिँ कसरी निभेन ?
म : अहिले सम्म दियो निभ्या देख्या छौ ? आगो निभ्छ भाइ दियो हैन ।
उ : अहो! दाइ । के बाट प्रेरित भएर लेख्नु भो त ?
म : Fucked up Result ले गर्दा बिरक्त लागेर घरबाट अलि टाढाको बस बिसौनीमा दुइटा बाहरुको कुरा सुन्दै बसिरहेको थिएँ । धेरै मान्छे आए एकछिन बसे, बाहन आयो, चढेर गए । यसो सोचे एत्रो बर्षदेखि पर्खिरहेको बिसौनीलाई कसैले पनि ‘आउ तिमीपनि जाउँ । भाडाँ म हाल्दिन्छु ।’ भनेनन् अनि फेरि सोचेँ दियोको बारेमा । सबैले दियो बाल्ने भन्छन् तर बिचरा एउटा धागोको प्राण जान्छ । दियो उसको पिडामा तात्न मात्र सक्छ । पग्लिने उसलाई हक छैन । त्यसैले पनि दियो कहिले निभेन बलेको जो थिएन । जो बल्यो जो सक्यो, उसलाई कसैले वास्ता गरेनन् बिसौनीलाई जस्तै ।
9:22 PM
JAN 15, 2018
© Jaidip Subedi