भेटघाट वा भुत र घाट

साउन ६, २०७५ – आइतबार

आजको दिनको बारेमा लेख्नपर्छ ।
सबैजनाको भेट धेरै पछि हुन लाको छ । रमाइलोको नै बिषय हो किनभने यहाँ सरेपछी सबैजनाको यसरी औपचारिक रुपमा भेट भएको थिएन । र सबैजनामा पर्छौँ – म, ईना दिदी, मनिष दाइ र बाबा । अन्तिम भेटघाट कलङ्किबाट सामान सार्न लाग्दा भएको थियो । र आज सबै भएको दिन बिशेष दिन पक्कै पनि । अन्तिम दिन सायद बेल्जियम र फ्रान्स भिड्दै थिए ।

कोठा सरेदेखीको म:म: ख्वाउने बाचा आज पूरा हुँदै थियो, त्यसैले यो भेटघाटको रमझम थियो । खाइहोरी सबै बसेर कुरा गर्दै थियौँ तब नै सनातन धर्मको कुरा उठ्यो । मैले २००० बर्षअघि कुनै लेखकले लेखेको किताबका पात्रलाई भगवान मान्न हुँदैन भने । सबैले कराए । सबैलाई प्रश्न गर्न थाले । प्रश्न साबिक नै भएपनी सबभन्दा कान्छो भएकाले हार मान्नै पर्यो ।

एकछिन पछि दाइ बोल्नुभो ।
‘हेर! यदि तँ भुतमा बिश्वास गर्छस् भने भगवानमा पनि गर्छस् । मैले पनि पहिला गर्दिनथे तर भुत देखेपछी गर्न थाँले ।’

ईना दिदीको पालो ।
‘तपाइँले त एकचोटी मैले त कतिचोटी देखिसके ।’

‘अलि लामो पारामा भन्नू कथा लेख्छु ।’

‘ल सुन् ।’

+

सधैँझैँ आज पनि चाडैं निन्द्रा खुल्यो । ट्युसन लिन थालेपछि उठ्न बानी लाग्दो रहेछ । उठ्ने ट्युसन हैन, पढ्ने ट्युसन । चार बजेजस्तो निन्द्राले छाडेपछी बाथरुम गएर हात मुख धोए अनि बाहिर आएर लुगा लाएपछी ममिलाई म गए भनेर भने । ममि निन्द्रा मै हुनुन्थ्यो क्यारे ‘हुन्छ जाउ’ जस्तै केही मधुरो ध्वनी कानमा पर्यो । बाहिर निस्के र देखेँ सेतो लुगा लगाएका टन्नै मानिसहरु बसेर सेता लुगाहरु धोइरहेका थिए । के भाका होलान् यी मानिसहरु भनेर सोचेँ । दिउँसो आउँदा भिड हुन्छ भनेर एकाबिहानै आका भनुम् भने यो खोला सुकेको बर्सौँ भइसक्यो । एकछिन हेरिरहे र मनमा के आयो कुन्नि ममिले भुतले सेतो लुगा लगाउछन् भनेको सम्झेँ र केही पनि नसोची ब्याग त्यही छाडेर कोठातिर टाप हाने । ममिको मोबाइल म सङै थियो । मनिषलाई फोन गरेँ । ‘राती १२ बजे के खान कल गरिस् आज मेरो जन्मदिन पनि हैन ।’ तर्सेँ । घडी हेरेँ । १२:१५ । चार घन्टा पछि उठे । ममिलाई सबैकुरा भनेँ र ट्युसन छाडिदिएँ ।

+

‘को मनिष ?’ मनिष दाइको प्रश्न ।

‘ए! मेरो ट्युसन पढ्ने साथी थियो । अहिले पनि भेट हुन्छ कहिलेकाही ।’

दुइजना बोलिरहे । म सुनिरहेँ । बाबा मस्त निन्द्रामा हुनुन्थ्यो ।

‘अनि साच्चै भुत देखेपछी मान्छे बिरामी पर्छन् भन्छन्, तपाइँलाई केही भएन ?’ मेरो पालो प्रश्न गर्ने ।

‘एक हप्ता बिरामी परेँ त्यसैले त ट्युसन छाडेको ।’

‘ए! बबाल ।’ मलाई रमाइलो लागिरहेको थियो । आज मङलबार पनि थिएन । मङलबार भुतको कुरा गर्यो भने भुत आउँछ भन्थे त्यसैले ढुक्क थिएँ ।

‘अनि अर्कोचोटी भुत देख्दा त म बेहोस नै भाको ।’

‘तपाइँको कुरामा एकछिन पछि जाँउला अब मनिष दाइको पालो ।’

+

आजको दिन खुशियाली वाला थियो । रमेशले नयाँ गाडी किनेको थियो । हामी पुर्वबाट हेटौंडा आउदै थियौं । पर बाटोमा दुइजना मानिस सडकछेउ उभिरहेको देखेँ । सेता लुगा लगाएका दुइटैलाई देख्दा मन हैन अङ काँपे शरिरका । भुत होलान् भन्ने पक्का भयो । रमेशलाई देखाएँ र सोधेँ उस्ले कहाँ छन् त्यहाँ दुइजना त्यहाँ त एकजना मात्रै छ त भनेर भन्यो । अब पक्का ती भुत नै हुन् भन्ने भयो । मैले गाडी रोकौँन भनेर भनेँ तर रमेशले रोकियो भने मरिन्छ भनेर गाडी हुइँकायो । मैले पछाडी फर्केर ती दुइलाई हेरिरहेँ । रमेशले ऐनाबाट त्यो एकलाई हेरिरह्यो । नयाँ साधनले पुजा नगरेसम्म काल खोज्छ भन्छन् धन्न बचियो त्यो घटनाबाट ।

+

कलङ्किबाट सामान सारि सकेपछी ट्याक्सिमा यता आउँदै गर्दा ईना दिदीले नक्साल भगवतीलाई ढोगेपछी मैले दिदीलाई ‘भगवान माथी आस्था राख्नु हुन्छ कि बिश्वास गर्नुहुन्छ’ भनेर प्रश्न गरेको थिएँ दिदीले त कुरा टार्दिनु भो तर अघि बस्नुभाको मनिष दाइले ‘हुन त दुइटै एउटै हुन् तर तैलेँ कुरा चाहिँ गम्भीर गरिस्’ भन्नुभाको दाइले यस्तो कुरा गर्नुहुन्छ भन्ने सोच पनि आएको थिएन । तर अब भनेपछी होला नै भनेर एकछिनलाई बिश्वास गरेँ ।

‘अर्कोचोटी के देख्नुभाको हो र बेहोस नै हुनलाई ?’

‘ए! अँ साच्चिँ सुन् ।’

+

हामी कान्छो अङ्कलको घरमा बस्थिँयौ । सबैले भुतिया घर भनेर छोडेपछी बस्न कोहि नभएर घर जिर्ण अवस्थामा पुगेपछी हामी त्यहाँ बस्न थालेका थियौँ । ट्युसन वाला घटना दिमागबाट हटेपछी डर लाग्न छाडिसकेको थियो । एकदिन यस्तो आउँछ, केही कुरा मनमा गडेर पनि बिर्सिइन्दा रहेछन् । केही कुरा बिर्सौँ भनेपनी झस्काइरहन्छन् । त्यस्तै भयो त्यो दिन । दिन हैन रात । सम्झना दिदी हाम्रो मै सुत्न भनेर आउनु भाको थियो । म धेरै खुशी थिएँ । आफ्नो उमेरका दिदीबहिनी भए त्यसै त मन खुशी त्यसमाथि सङै बस्ने आज त । तर दिदीको राती पिसाब फेर्ने बानी रहेछ । त्यसमाथि डराएर मलाई सङै बाहिर आउन भन्नुभो । हामी बाहिर निस्कियौँ । बाहिर त साना देखि ठुला, ठुला देखि बुढा सेता लुगा लगाएका मान्छेहरु हातमा लठ्ठी र लठ्ठीको टुप्पोमा आगो लिएर गोलो बनी घुमिरहेका थिए । एकदम शान्त । हामी दिदिबहिनीको नै सातो उड्यो । कुदेर कोठामा पस्यौँ । रुन आएन, हाँस्न त के आउथ्यो । चुप लागेर एकाअर्कालाई अङ्गालो हालेर निदायौँ । आज पनि कहिलेकाही केही गर्दा डर लाग्यो भने त्यही उडेको सातोलाई सम्झन्छु ।

+

‘अनि बेहोस चाहिँ कहिले हुनु भयो त ?’

‘ए अँ! बिहान म नउठेपछी दिदीले आत्तिएर ममिलाई बोलाउनु भएछ अनि हस्पिटल लगेपछी मात्र होश आयो ।’

‘भनेछी हेटौंडा र काठमाडौ दुइटैको भुतको दर्शन गरिस् ?’ केहीछिनको मनिष दाइ र मेरो हाँसो र कुरा अब काठमाडौ र भुत तिर ।

‘साच्ची बसन्तपुर तिर पनि भुत हुन्छ भन्छन् । साँचो हो यो कुरा ?’ फेरि प्रश्न तेर्स्याएँ ।

‘अँ! भुकम्प आएपछी त झन् आउछन् रे त्यहाँ ।’ ईना दिदीको जवाफ ।

‘तर त्यहाँ नेवारहरु बढी छन्, तिनीहरुले अर्कै भन्छन् ।’ मनिष दाइले भन्नुभो ।

‘ख्याक ?’

‘अँ! त्यो त सबैभन्दा डरलाग्दो ।’ ईना दिदी बोल्नुभो ।

‘दुईथरिको हुन्छन् त्यो पनि । कालो र सेतो । प्राय तिनीहरुले भर्याङ्मा तान्छ्न् ।’ मनिष दाइले बुझाउनुभो ।

‘भर्याङ् मुनि लास गाड्छन् क्यारे तिनीहरु त्यही भएर ।’ ईना दिदीले यति भनेपछी मनमा हावा पस्यो । खुट्टा काँप्न थाले । देख्नुभो भने हास्नुहुन्छ भनेर तकिया समाएर बसिरहेँ । अब चाहिँ डर लाग्न थाल्यो । कुरा सक्काउँ भने आफैले सुरु गर्या, डर लागिरहे पनि सुनिरहे ।

‘त्यो नेवारहरुको गुफा बस्छ नि ? हो त्यो बेला अँध्यारो कोठामा राख्छन् रे । त्यो अँध्यारोले गर्दा कतिपय केटिहरु मर्छन् रे । त्यो बेलामा मर्या केटिहरुलाई कोठा बाहिर निकाल्न मिल्दैन रे त्यसैले ढलानलाई फोरेर त्यहीँ मुनि गाड्दिन्छ्न् रे! कस्तो होला है आफ्नै घर मुनि लास गाड्ने! ‘

ईना दिदीले यति भनेपछी आज बेलुका टोइलेट नजाने निर्णय गरे ।

‘अझ कान्छो अङ्कलको घर भाको ठाउँमा त पहिले चिहान थियो रे! कति धेरै बच्चा गाडेको छ रे त्यो ठाउँमा त! ‘

‘त्यो त भनाइ हो भुत आएसी जहाँपनि त्यही भन्छन् ।’ मनिष दाइ यती भनेर केही बोल्नुभएन ।

बाबा उठ्नुभो । उता कोठातिर गएर आउनुभो अनि बोल्न सुरु गर्नुभो ।

‘यो घर कति आनामा बनेको होला है ?’

‘खै ड्याडी त ६ आना जति होला भन्दै हुनुन्थ्यो ।’

‘ए! १० धुर जति होला त्यसो भए ।’

काम कुरो एकातिर, कुम्लो बोकि ठिमीतिर । भुतको कुरा चलिराको बेला फेरि अब जग्गाको कुरा आयो भनेर अघि बढ्दै थिए । ईना दिदीले फेरि कुरा कोट्याइ हाल्नुभो ।

‘साच्चिँ हाम्रो हजुरबुबाले त कतिचोटी देख्नुभाको रे! ‘

+

हजुरबुबा भनेर सहर तिर पस्दा कथा खल्लो हुन्छ त्यसैले गाउँ तिरै जाँउ । अब उठिएन भने खाना बनाउन पनि पानी पाइदैन । अब त उठ्छु । मिर्मिरे नै छ । घाम तिर हेर्छु । ५:१५ भयो जस्तो छ, पँधेरोमा भिड हुने बेला भो । कुद्छु अब त । दुइटा गाग्री बोक्छु अनि निस्कन्छु । त्यसै त थोरै पानी यो कुवामा त्यसमाथि यस्तो भिड । डरलाग्दो नै भएपनी माथिको पँधेरो धाँउछु आज त । गाग्री बोकेर उकालो चढ्न थाल्छु । माथी पुग्दा एउटि आइमाई पानी थाप्दै रैछे । पर्खेर बसिरहेँ । एकछिन पछि अर्को एउटा मान्छे आयो । दुइटैले सेतो लुगा लगाको देखेपछी हल्का मन डरायो । ए! छिटो गर्नुन । भनेर भने । कुन गाउँबाट आउनुभा हो ? भनेर सोधेँ । केही पनि जवाफ नआएपछि केटिको खुट्टा तिर हेरेँ । ए! बाबा भुतको रैछन् भन्ने सोचेर गाग्री त्यहीँ छाडेर खुरुखुरु घरतिर लाग्न थालेँ ।

+

‘इत्तिले दुइचोटी मात्र बोल्नुभो । तीनचोटि बोलेको भए बुबा बित्नु हुन्थ्यो रे!’
ईना दिदीले भन्नूभो ।

‘ए! कल्ले भनेको नि तीनचोटि बोल्यो भने मरिन्छ भनेर ?’ मैले सोधेँ ।

मनिष दाइ हाँस्नुभो । म फेरि पनि टारिएँ ।

‘यो त भए भुतका कथाहरु यदि भुत आयो भने चाहिँ के गर्ने ?’ मैले सोधेँ ।

‘ढोका नखोल्ने । भुत यदि आयो भने ढोकामा तीनचोटि ढकढक गर्छ रे! टक! टक! टक! त्यसपछी फेरि आवाज आयो भने चाहिँ मान्छे हो नत्र भुत! अनि कसैले तीन चोटि नाम मात्र लिएर बोलायो भने! जस्तैः जय! जय!…

‘ह्या! अब रोक्नु मलाई डर लाग्यो ।’ मैले मुत्न मात्र बाकी थियो ।

‘छ्या! यो त केटि जस्तै डराउदो रहेछ ।’ ईना दिदीले यति भनेपछी सोचेँ केटिहरुले नै आफुलाई कमजोर ठान्दा रहेछन् । महिला हिंसा हुनुमा पुरुषको हात नै रहेनछ ।

‘अनि तैले टाउको नभाको भुतको बारेमा सुन्या छ ?’ ईना दिदीले सोध्नुभो ।

‘अँ! मुर्कुट्टा भन्छन् क्यारे हैन त्यसलाई ?’ प्रश्नको जवाफ प्रश्न सङै ।

‘अ! मुर्कट्टा हो ।’

+

शनिबारको दिन । नेपालीको पुर्खौ देखिको परम्परा आज त मासु खानै पर्ने । मासु किन्न भनेर हिड्दै थिएँ, छुट्टीको दिन भएर होला सडक खाली नै थियो । मासु लिएर त्यही बाटो फर्किदै थिएँ । एउटा घोडामा टाउको नभएको मान्छे आयो । मान्छे किन लाग्यो भने दिउँसो भुत देखिदैनन् भन्ने कुरो थियो तर मेरै अघि कुदेर आएको देखेपछी सातो उड्यो । मासुको झोला त्यही छाडेर घर दगुरेर आएँ । मुर्कट्टाले एकचोटी देखेपछी कहिले छोड्दैन रे! तर फेरि मुर्कट्टाले मासु मात्र खान्छ रे! त्यो दिन त्यो मासुको झोला मैले नछोडेकी भए आज म यो कथा भन्न सक्दिनथेँ होला ।

+

ईनाले कथा टुङ्ग्यापछी मलाई जिस्किन मन लाग्यो ।

‘Moral of the story : Whenever you see a मुर्कट्टा, run straight to butcher’s.’

मनिष दाइ हास्नुभो ।

‘यो कथा चाहिँ कस्को ?’ ईना दिदीलाई सोधेँ ।

‘ए! हेटौंडामा हाम्रो घर पछाडी एउटा आन्टी हुनुन्थ्यो त्यही आन्टिले भन्नुभाको हामीलाई ।’

‘ए! साच्चै काठमाडौंमा चाहिँ किन यस्तो भुतहरु भाको जताततै ?’ दुबैजना लाई मेरो प्रश्न ।

ईना दिदीले टार्नुभो । तर मनिष दाइको उत्तर अलि ठिक लाग्यो ।

जमानामा पृथ्वीनारायण शाहको पालामा काष्ठमण्डप सङ लडाई हुँदा कति मान्छेलाई मारेर जताततै गाडेको हुँदा अहिले तर्साउने वहाँको कुरा थियो । हदसम्म कुरा ठिक लाग्यो ।

अझ त्यही बेलामा शङ्खमुलमा गरिएको सामुहिक हत्याले गर्दा अहिले पनि त्यहाँका बासिन्दाहरु राती बाहिर निस्किदैनन् रे ।

के थाहा अहिले तपाइँ बसिरहेकै घर मुनि कसैको लास पो छ कि ?

+

कथा लामो भयो । अब सक्काउछु ।

सबैजना उठ्दै थिए । ढोकामा कोहि आयो र तिनचोटी ढक! ढक! ढक!

समाप्त !

#peace

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s