हरे कृष्ण – सुशिल राज सुबेदी

उनी कृष्णको ठूलो भक्त थिइन्। पूजाको नाममा मन्दिर मात्र जाने उनको बानी थिएन। कृष्ण लीला उनी साँझको पूजा पछि सधैँ जसो सुन्ने गर्थिन। र बिहान पख फेरि कृष्णको पूजा गर्थिन। यसरी उनको जीवन बित्न थालेको पनि धेरै नै समय भइसकेको थियो। लगभग सात वर्ष जति भइसकेको थियो। यो अन्तरालमा उनको पढाई बयाच्लर लेभलसम्म पूरा भइसकेको थियो। नेपाली विषयमा उनले उत्तीर्ण गरेकी थिइन। 

प्लस टु सकिसके पछि उनी पढाईको शीलशिलामा पोखरा आएकी थिईन। पोखराको सुनौलो डाँडामा रहेको एउटा घरमा उनी बस्थिन। त्यस डाँडामा जम्माजम्मी गरेर दुई-तीन घर मात्र थिए।  यो ठाउँ अरू मानव समाज देखि अलिक टाढा थियो त्यसैले त्यहाँ त्यति होहल्ला हुँदैन थियो। र सुनौलो डाँडाको रमाईलो पक्ष उनको लागि के थियो भने त्यो डाँडाबाट दुई किलोमिटर जति माथि उक्ले पछि कृष्णको मन्दिर आउथ्यो जहाँ उनी दिनहुँ जसो पूजा गर्न जान्थिन। झन् बिदाको दिन त उनी दिन भरि केही पनि नखाई ध्यान गरेर बस्थिन। पढाई सकेपछि पनि उनको दिनचर्या यसरी नै बितेको थियो केबल एक कुरामा बाहेक। जुन बेला पढ्न क्यामपस जान्थिन अब पढाई सकेपछि भने उनी त्यहाँको सामुदायिक विद्दालायमा माध्यमिक तहलाई नेपाली विषय पढाउन थालेकी थिईन। यो शीलशिला पनि करिब चार वर्ष सम्म रह्यो। यो समय अवधि भर उनी घर फर्केर पनि गइनन् हालाकि घरबाट उनलाई कहाँ कसरी के गरेर बसेको भनी निरन्तर प्रश्न उठिरहन्थयो तर उनी केबल मौन हुन्थिन उत्तर दिने बेला। पछि परिवारले पनि हार मानेर उनको बारे निधि खोजी गर्न छोड्यो ।

समय उनको निरन्तर वेगमा बगिरहेको थियो। उनको उमेर जति बढ्दै गइरहेको थियो, उनको अनुहारमा एउटा अभूतपूर्व चमक देखिन्थयो। थाहा थिएन त्यो शक्ति के त्यस्तो थियो तर उनीमा चाहिँ बढ्दै गइरहेको थियो। 

एक दिन पढाएर बेलुका तिर घर फर्किदैँ थिईन, उकालो चढ्दै गरेको बेला पछाडिबाट उनलाई एउटा बालकले बोलाएर भने” दिदी, यो हजुरको लागि?” 

पहेँलो कागजमा सज्जित त्यो वस्तु, के हो यो? भनेर उनले सोध्न नपाउँदै त्यो केटो खुर्र तल अोरालो झरिसकेको थियो। उनी एक छिनसम्म त्यो बालक कतै देखि हाल्ला कि भनेर हेरि राखिन तर नभेटिए पछि भने उनी फेरि उकालो चढ्न लागिन। साँझ पख भइ सकेको थियो घर पुग्दा। अरू दिन जस्तै कृष्णको पूजा गरिसकेपछि उनी त्यो कागज खोल्न लागिन। भित्र पट्टि सेतो कागज थियो जसमा लेखिएको थियो,” हरे कृष्ण! के म हजुरलाई कुनै दिन हजुरले चाहेको ठाउँ र समयमा भेट्न सक्छुु ?”

उनी एकछिनसम्म टोलाइन।भाव शून्य भईन। मानौँ स्वयम कृष्ण नै उनीसँग भेट्न खोज्नु भएको छ। यसकारण कि उनलाई जुन किसिमले त्यो कागज फेला पर्यो त्यो भगवानले आफ्नो सन्देश, सानो बालकलाई दूत बनाएर पठाउनु भए झैँ छ र कागजमा लेखिएका कुरा बिना मोह रहित रहेकाले उनलाई त्यो कुरा ऐहसास हुन पुग्यो। अर्को कुरा के पनि छ भने यति लामो समयसम्म उनी कोहीसँग सम्पर्कमा थिइनन्। त्यसैले यो सन्देश आउनुमा उनी थोरै भए पनि आशचर्य हुन पुगिन।

उनले प्रतिउत्तरमा त्यो कागजको पछाडि पट्टि लेखिन, “हुन्छ भेटौँ न! सुनौलो डाँडा देखि माथि रहेको कृष्ण मन्दिरमा यहिँ शनिबार दिउँसो तिर” 

उनले भोलि पल्ट पढाएर फर्किने बेला त्यो कागज जुन उकालो चढ्दै गर्दा उक्त बालकले बोलाएको थियो उनले त्यतै तिरको झाडीमा सुरक्षितसाथ लुकाएर राखिदिइन। त्यसपछि उनी सरासर घर तिर लागिन। फेरि सधैँ झैँ कृष्णको आराधानामा मग्न भइन। 

यसरी उनको दिन चर्या बितिराखेको थियो र नभन्दै शनिबार पनि आई पुगेको थियो। उनी खाना खाएर मन्दिरतिर लागिन।  यसै पनि उनी खाली समयको बेला मन्दिर गएर ध्यान गर्ने गर्थिन भने आजचैँ विशेष व्यक्ति पनि आउने भएर उनी गइन। 

“परबाट लामो कपाल पालेको गहुँगोरो मान्छे आउँदै थियो। मान्छे धेरै अग्लो पनि थिएन। उसले कालो रङ्गको झोला बोकेको थियो। कमिजको गोजीमा कालो कलम थियो। हातमा चुरोट बलिरहेको थियो। ” उनले यस किसिमको हाउभाउ देखे पछि तरङ्गित भईन। उनी फेरि भाव शून्य भईन। नभन्दै त्यो मान्छे उनी छेऊ आई पुग्यो। र चुरोट चाहिँ मन्दिर आउनु भन्दा अगाडि नै निभायो।

उसले मन्द मुस्कान दिँदै भन्यो,” हाई, म शङ्कर”

उनले पनि जवाफमा मुस्कुराउँदै भनिन,” हेलो, म राधा” उन‌ी कृष्णको भक्तिमा लाग्न थाले पछि उनले यो नाम स्वयम चुनेकी थिईन।

शङ्करले जिस्काउन खोज्दै भन्यो,” सो यु आर हेयर टु मिट कृष्ण?”

उनले हल्का लजाउदैँ भनिन,” कृष्ण हयाज अलवेज बिन विदिन मि”

शङ्कर यो सुने पछि मज्जाले मुस्कुरायो।

दुबै जना एक छिनसम्म एक अर्कासँग बोलेनन र एक टकले तल गाउँका फाँटहरूलाई हेरिराखे। हावाले गर्दा उनको कपाल शङ्करको काँधलाई छोई राखेको थियो। यति नै बेला शङ्करले यो देखेर खुशी भएपछि, मौनताको त्यो छाललाई रोक्न हावा बनेर आईपुग्यो र सोधिहाल्यो, ” हजुर के गर्नु हुन्छ यो गाउँमा?”

उनले सरल हुँदै भनिन, ” पढाउँछु।” फेरि अर्को सास लिँदै भनिन,” हजुर यो गाउँमा नयाँ हो र? आजसम्म देखेकि थिइन यदि हजुर यहिँ गाउँको हुनुहुन्छ भने”

शङ्करले खुशी हुँदै भन्यो,” हजुर नयाँ नै भनूम। तल गाउँमा बस्छु। कामको शीलशीलाले आएको हुँ।”

उनले यति सुने पछि अकमकिदैँ सोधिन,” मलाई कसरी चिन्नु भयो?”

शङकर यो सुने पछि एक छिन मुस्कुरायो र भन्यो,” तपाईलाई म कामबाट फर्किने बेला सधैँ तल स्कुलको पधेँरोमा मुख धोई रहेको देख्थे।”

उनी एक छिन लाजले केही बोल्न सकिनन्। एक छिन पछि उनले पनि जिस्किदैँ भनिन,” स्कुलमा देख्नु भएको रहेछ मलाई। के गर्नु हुन्छ भनेर किन सोध्नु भयो?”

शङ्करले पनि रमाईलो मानेर भन्यो,” स्कुलमा भेट्टिने सबैले पढाउँछन् भन्ने हुन्न नि!”

उनले पनि कस्सिएर उत्तर दिईन,” के गर्छु जस्तो लाग्यो र हजुरलाई?” उनले यति भने पछि शङ्कर फेरि मज्जाले मुस्कुरायो। र एकछिन पछि भन्यो,” होइन यत्तिकै भनिदिएको हजुरले के भन्नु हुन्छ हो‌ला भनेर।”

त्यसपछि केही बोलेनन्। वार्तावरणमा मौनता एक तवरले  आउँदै पनि गर्थयो भने अर्को तिर जाँदै पनि गर्थयो। अघि शङ्करले भगाएको मौनतालाई यो पालि भने उनले भगाईन। उनले लजाउँदै सोधिन,” मलाई भेट्न हजुरले किन चाहनु भएको?” उनले यति भने पछि मानौँ शङ्करको मनमा नाचेको प्रश्न उनले देखेझैँ भयो।

यो पालि भने चाहिँ शङ्कर पनि लजायो। उसलाई के कुरा भनौँ जस्तो भयो जुन उसको अनुहारको रङ्गबाट प्रष्ट थियो।

जसोतसो गरेर उसले भन्यो,” मसँग एक्ज्याट उत्तर भने छैन तर तपाईसँग भेट्नु मेरो केही आवश्यकता थियो कि झैँ लागेर भेट्ने सोच बनाए”

यो सुने पछि उनी दङ्ग परिन। आजसम्म यत्तिका वर्षसम्म कसैले उनीसँग यसरी कुरा गरेको थिएन। शङ्करको प्रत्यक उत्तर सरल थियो। ऊ कुनै कुराबाट प्रभावित भएर कुरा गरे जस्तो देखिदैँन थियो हालाकि ऊ अलिकति ठट्टयौँलो स्वभावको भने छ।

उनले शून्यभाव हुँदै भनिन,” हजुरको विचारमा के त्यस्तो कुरा हो‌लाझैँ लाग्छ जसका कारण तपाई मलाई भेट्न चाहनु भयो?”

शङ्करले झट्ट भन्यो मानौँ यसको उत्तर उसलाई धेरै पहिल्यै देखि याहा छ,” तपाइँलाई म धेरै समय देखि चिन्छु। केबल तपाई मलाई चिन्नु हुँदैन।”

परमात्माको वाणी जस्तो सुनिने उसका कुरा सुने पछि आज उनी साक्षत भगवानको दर्शन गरिराखेकी छिन् कि झैँ महशुस गर्न पुगिन। एक छिन त उनको बोली नै अड्कियो किन कि यत्तिका समयसम्म त उनी साथीभाई, परिवार र ईष्टहरूसँग धेरै टाढिई सकेकी थिईन। र उनी कहाँ छिन भनेर कसैलाई पत्तो थिएन।

उनले दङ्ग हुँदै भनिन,” हजुर को हुनुहुन्छ र भन्नुस न?” उनले यति भन्न नपाउँदै शङकरले आफ्नो झोलाबाट चिठी निकाल्यो र उनको हातमा थमायो। चिठी दिँदैँ उसले भन्यो,” घर गएर खोल्नु होला” उनले केहि बोलिनन।

कुरा गर्दागर्दै समय पनि ढलिसकेको थियो। साँझ पर्न लागेको थियो। दुबै जनाले एक अर्कालाई उठौँसम्म नभनी अोरालो लागे।  राधा आफ्नो घर तिर लागिन भने शङ‌कर चाहिँ तल गाउँ तिर लाग्यो।

राधा घर पुग्ने बित्तिकै कृष्णको पूजामा लागिन। त्यसपछि उनले शङ्करले दिएको चिठी खोलिन। जसमा काला मसीले लेखिएको थियो सम्भवत उसकै कमिजको गोजीमा रहेको कालो कलमले लेखिको हुनसक्छ। जसमा लेखिएको थियो:

” म अरू कोही होइन त्यहीँ कवि हुँ जसका हरेक कवितामा तिम्रो भक्ति बाँचेको छ । तिम्रो मन, मुटु जेसुकै भन मैले सधैँ कतै नजाअोस् भनेर कवितामै बाँधे तर सकिन जब तिमीले यो सहर छोडेर अन्यत्रै कता गएछौ भन्ने थाहा पाए पछि।

मैले यत्रा वर्ष तिमीलाई खोजे सायद यो नै मेरो भक्ति थियो त्यसैले आज तिमीलाई भेटे। मसँग कारण तिमी बाहेक केही छैन। म अरू कोही होइन, उहीँ गोविन्द हुँ जो आज शङ्कर भएर भेट्यौ।” यति पढेपछि उनका आँखा रसाए। उसका अगाडि ति विगत फेरि एकपटक ताजा भयो आखिर यति लामो समय पछि उसलाई कसैले त सम्झिन पुग्यो। उनलाई भने यो सबै यसरी भइरहेकोमा स्वयम भगवान नै भेट्न आको झैँ भयो।

भोलि पल्ट पधेँरोमा मुख धुँदै गर्दा उनले गोविन्दलाई देखिन।  गोविन्द कामबाट फर्किदैँ थियो। उनको पनि स्कूल छुट्टि भइसकेको थियो। 

उनले जिस्काउँदै बोलाईन,” शङ्कर भनौँ कि गोविन्द?”

गोविन्दले पनि रमाईलो मान्दै भन्यो,” हुन्छ राधे! जे भने पनि भयो।”

उनले उत्सुकता साथ भनिन,” आज माथि नै बसौँ,हुँदैन र?

शङ्कर हर्षित हुँदै भन्यो,” हस्”

दुबै जना उकालो चढ्न लागे। बाटा भरि पुर‌ानो समयका गफगाफ गरे। एक अर्कालाई जिस्काए। यसरी नै घर आई पुगे। आउने बित्तिकै राधा भने कृष्णको पूजामा लागिन। आज पनि राधा यसरी नै पहिले जसरी कृष्णको भक्तिमा मनमुग्ध भएर लागेको देख्दा गोविन्द अौधी खुशी भयो।

गोविन्दले राधालाई धेरै प्रश्न सोध्न आवश्यक ठानेन त्यसैले उसको पूजा समय अवधि भर ऊ मौन नै रह्यो।

गोविन्दले मौनतालाई कुचो लाउँदै भन्यो,” राधा, जाने बेला मलाई किन नसोधेकी? “

धेरै समय पछि दुखको अनुभूति गर्दै राधाले भनी,” तिमीलाई दुखमा पार्नु मलाई जायज लागेन। तिमी काठमाडौँमा भर्ना भईसकेका थियौ। मेरो भने अवस्था ठीक थिएन।” यस पछि राधा बोलिनन्।

गोविन्दले के भयो भनेर बारम्बार सोधे तर राधाले भनिनन्।त्यो रात त्यसपछि अरू पुराना यादहरू सम्झिदैँ एक अर्काले बिताए। बिहानी पख भयो। गोविन्द राधाको सट्डी टेबल तिर गएर केके पढ्ने किताब रहेछन् हेर्दै थियो त्यति नै बेला उसले राधाको डायरी देख्यो जसमा उनको मनका पीडाहरू पोखिएका थिए। गोविन्दले उनी नआउन्जेल डायरी पढ्यो।

गोविन्दले राधा यसरी सबैसँग एक्लिनुको पीडा बुझ्यो। उसले राधेको कृष्ण भक्ति बुझ्यो। उसले राधे फेरि नफर्किनुको कारण बुझ्यो। राधे गोविन्दलाई कति चाहान्छे त्यो पनि बुझ्यो र उसलाई किन भनिन त्यो पनि थाहा पायो। कारण राधेको परिवार थियो जसले राधालाई स्वतन्त्र चरा हुने अधिकार दिएन। राधालाई चाँडै नै बिहे बारी गरेर परिवार बिदा गर्न चाहान्थ्यो तर उसको चाहनाको संसार भने बेग्लै थियो। उसलाई अझै पढ्नु थियो। संसार अझै बुझ्नु थियो। समाजमा ऊ पनि पुरूषको दर्जामा आउन चाहान्थी। ऊ महिला भएकै कारण अघि बढेको देख्न चाहन्थि। यि सबै कारण बुझेपछि गोविन्दका आँखा रसाए।

यहिँ बेला राधाले गोविन्दलाई बोलाइ‍न,” के भयो शङ्कर?”

गोविन्द झट्ट के पछाडि फर्कियो उनले उसका आँखा रसाएको देखिन र टेबलमा डायरी। त्यसपछि राधाले थाहा पाइन गोविन्दलाई सबैकुरा थाहा भयो भनेर। एकछिनसम्म दुवै मौन रहे। र एकअर्कालाई पछि अँगालोमा बेरे। त्यो दिन देखि शङ्कर आजका दिनसम्म राधासँगै बसिराछ। उनीहरू एक अर्कालाई अौधी माया गर्छन् त्यसैले विवाह गरेनन्। उनीहरू स्वतन्त्र चरा जसरी जीवन बाँचिराछन्। त्यो सुनौलो डाँडामा राधा एक्ली छैन। हुन त ऊ सधैँ कृष्ण भक्तिमा लीन थिईन् त्यसैले ऊ कहिल्यै एक्लै हुने कुरा नै भएन। उसँग भगवान् कृष्ण, शङ्कर, गोविन्द र कवि हुनुहुन्छ। उ एक्ली छैन। 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s