- सुशिल राज सुबेदी
सरकार,
केहि कुरा सुनाउँछु है!
पेट भरि खाएर
भोकको बारेमा बोल्न सजिलो हुन्छ
किन कि बोल्दा भोक लाग्दैन
बोलि सकेपछि अलि-अलि प्यास लाग्ला
थोरै भए नि खाजा खान मन लाग्ला
सँझ परे पछि त पक्कै खाना नै खानु पर्छ
सरकारले पानी, खाजा र खाना सबै पाउँछ
यत्तिका दिनसम्म नबोलिकन बसेका मान्छेलाई
प्यास पनि नलागेकै हो त, सरकार ?
ल ठीक छ! प्यास नलागे नि भोक त लाग्ला नि
कि मरे पछि मात्र भोक लाग्दो रहेछ,सरकार?
संसदमा सरकारका योजनाहरू सुनाउँदा
एक छिन सबैलाई खुशी लाग्छ
मानौँ सुखी हुने लट्री अब नेपालीले पाए
यहाँ वर्खा आइसक्यो
तिम्रा त्यो योजनाको लट्रीले
बाटामा अलपत्र परेका
कैयौँ मान्छेका आँखा टालिँदैन
कैयौ मान्छे बसेका त्रिपाल चुहिन रोकिदैँन
न त रोकिन्छ बगेका आँशु नै
अनि आँशुले पहिल्यै भिजेका सडक
फेरि यो वर्खे पानीेले भिज्दा
ति मान्छेलाई रून्चे त भन्दैनौ नि सरकार!
विदेशमा लडेकाका लागि
के छ नि सरकार तिम्रो सन्देश ?
लकडाउनले गर्दा
सरकार त्यति बेफुर्सदिलो भइ सक्या हो र !
कि आफ्नै दूतावासले पनि चिठी लिन भ्याउदैन
कुन कुन देश भ्रमण हुँदै छ र अहिले?
आफ्नै नेपाली रहेका देशमा पनि किन जान भ्याउदैन यार
के लाग्छ सरकार
लकडाउन सकिए सँगै समस्या पनि सकिन्छ?
समस्या यदि सकिने भए
किन गएका थिए सीमा पारि रोजगार खोज्नलाई
त्यति बेला जाँदा त अप्ठयारो मानेनौ नि
अहिले कता तिर अल्झेका छौ
आफ्नै नागरिक बल्छीमा झुण्डिदा खेरि?
रहर त तिनलाई पनि थिएन
नदीमा हाम फालेर आउन र रातारात लुकेर सीमा क्रस गर्न
तिम्रो राष्ट्रप्रतिको कसम त्यति बलियो छ कि
तिनलाई आफ्नै ज्यान पनि त्यति माया लागेन
सरकार,
के यति कुरा सबै अब संसदमा सुनाउन सक्छौ?
थाहा छ सक्दैनौ
तिम्रो राष्ट्रवाद हाम्रो जिन्दगी भन्दा महँगो छ।